नेपालका पत्रकारहरुको राजनीती !

काठमाडौं । नेपाल पत्रकार महासंघमा प्रेस चौतारीले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित केन्द्रीय कार्यसमितिमा बहुमत सिट जितेर इतिहास कायम गरेपछि चौतारीको नेतृत्वमा पुग्नका लागि पत्रकारहरूबीच कडा प्रतिस्पर्धा शुरु भएको छ। चौतारीको आगामी फागुन अन्तिम साता बिराटनगरमा हुने राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन हुँदैछ। चौतारीको नेतृत्व सहमतिमै चयन गर्नका लागि बरिष्ठ पत्रकारहरू सम्मिलित उच्चस्तरीय संयन्त्र गठन भए पनि त्यसले औपचारिक प्रक्रिया भने शुरु गरेको छैन। एमाले केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापाको संयोजकत्वमा रहेको संयन्त्रमा प्रेस चौतारीका पूर्व अध्यक्षहरू बिजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई र वर्तमान अध्यक्ष गगन विष्ट रहेका छन्। चौतारीको भावी अध्यक्षमा सर्वसम्मतिको प्रयास संयन्त्रले गर्ने भएको छ। संयन्त्रभित्र बिभिन्न विकल्पहरूको बारेमा छलफल भइरहेको छ। पहिलो बिकल्पमा प्रमोद दाहाललाई अध्यक्षमा ल्याएर बाँकी पदमा अहिलेकै व्यक्तिहरूलाई यथावत राख्नेबारे अनौपारिक छलफल भएको स्रोतले जनाएको छ। त्यो स्वीकार्य नभएमा बरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलाई अध्यक्ष बनाएर सहमति खोज्नुपर्ने प्रस्ताव शम्भु श्रेष्ठको रहेको छ। त्यसमा पनि सहमति नभएको अवस्थामा वर्तमान मध्यमाञ्चल उपाध्यक्ष राजेन्द्र अर्याल र महासचिव विष्णु रिजाललाई स्वस्थ प्रतिस्पर्धा गर्न दिनेबारे पनि अनौपचारिक छलफल हुदैछ। प्रमोद दाहाललाई अध्यक्ष बनाएर अरु पद यथावत राख्ने कुरामा विष्णु रिजालले नमान्ने चर्चा चले पनि रिजाल स्वयंले भने ”सहमतिका लागि हुने कुनै पनि प्रयासमा आफू बाधक नबन्ने” स्पष्ट पारेका छन्।

‘तर चुनाव हुने अवस्थामा आफूले कुनै हालतमा मैदान नछोड्ने’ पनि उनले बताए। चौतारीको नेतृत्वमा परिपक्व, पत्रकारिता बुझेको र अनुभवी व्यक्तिलाई ल्याएर पछिको नेतृत्व विकास गर्नुपर्ने सुझाव संस्थापकहरू तथा पुराना पत्रकारहरूले दिएका छन्। राजेन्द्र अर्याल र विष्णु रिजालले मैदान नछाड्ने भएमा आफू पनि अध्यक्षको दावेदार रहेको पूर्वान्चल उपाध्यक्ष प्रकाश खतिवडाले घोषणा गरेका छन्। बरिष्ठ उपाध्यक्षका लागि बालकुमार नेपालले उम्मेदवारी घोषणा गरेका छन् भने महासचिवमा अहिलेका सचिव माधव नेपाल र लक्की चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ। सबैभन्दा धेरै उम्मेदवार सचिवमा हुने देखिएको छ। ३ सचिवका लागि एक दर्जन बढीले उम्मेदवारी दावी गरेका छन्। गणेश पाण्डे, राजेश राई, नरेन्द्र साउद, रामकुमार एलन, विमला राई, शान्ति गुरुङ, टीका विष्ट, डिल्ली पोखरेल लगायतले रहर गरेको चर्चा छ। कोषाध्यक्षका लागि विश्वमणि सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्।

चौतारीको नेतृत्वका लागि सहमतिको प्रयास हुन नपाउँदै सामुदायिक रेडियो प्रसारक संघ एकोराबमा पनि प्रेस चौतारी सम्बद्ध उम्मेदवारमा सहमति जुटाउन समस्या भएको छ। पश्चिमान्चल उपाध्यक्ष मोहन चापागाई, महासचिव खेम भण्डारी र कोषाध्यक्ष सुवास खतिवडाले अध्यक्षमा दावी गरेका छन्। अहिलेका अध्यक्ष मीनबहादुर शाही बिदा हुने भएपछि उनको ठाउँमा चौतारीले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छैन। कांग्रेस र माओवादीलाई पनि समेटेर लैजानुपर्ने भएकाले चौतारीका सबै व्यक्तिले रोजेको ठाउँमा उम्मेदवार दिन पाउने अवस्था नरहेको बताइएको छ। अन्य संगठनसंग पनि सहमति भएको खण्डमा खेम भण्डारीलाई अध्यक्षको रुपमा अघि बढाउने र चुनावै हुने भएमा चापागाईंलाई भिडाउने चर्चा पनि चलेको छ। त्यो अवस्थामा सुवास खतिवडालाई महासचिव वा अन्य पदमा अघि सारिने स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.