पत्रकार हत्यामा कान्तिपुरको संलग्नता !

काठमाडौं । सशस्त्र द्वन्द्वकालका बेला राज्य र विद्रोही पक्षबाट ३३ जनाभन्दा बढी पत्रकारहरूको ज्यान गयो । ४ जना पत्रकार अहिले पनि बेपत्ताकै अवस्थामा छन् । पत्रकार डेकेन्द्रको मात्र कुरा उठाएर आफ्नो स्वार्थ सोझ्याउने मानव अधिकारवादीहरू किन कृष्ण सेन, मिलन नेपाली, जेपी जोसी र प्रकाशसिंह ठकुरीका बारे मौन रहेका होलान् ? उत्तर काफी छ, कृष्ण सेनहरूका मुद्दा उठाउँदा उनीहरूलाई डलरको वर्षा हुँदैन । यता, श्रमजीवी पत्रकारहरू चाहिँ तमाम पत्रकारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका छन् । युद्धकालमा राज्य पक्ष र विद्रोही पक्षले हत्या गरेका पत्रकार कृष्ण सेन इच्छुक, डेकेन्द्र थापा र मिलन नेपालीलाई वेपत्ता पार्नेहरूलाई पनि कानुनको कठघरामा ल्याउनुपर्छ भन्दै पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ अगाडि बढेको छ । यतिबेला डेकेन्द्रका परिवारलाई प्रश्न सोध्ने पत्रकारहरू कृष्ण सेनका परिवारलाई किन प्रश्न सोध्दैनन् ?

भनेर जनताले प्रश्न गर्न थालेका छन् । तत्कालीन उपत्यका डीआईजी अमरसिंह शाहले कृष्ण सेन इच्छुकलाई ०५९ जेठ ६ गते गैरकानुनी ढंगले पक्राउ गरी आफ्नै कार्यालयमा हातखुट्टा बाँधेर कुटीकुटी हत्या गरेको तथ्यबारे पूर्ण रूपमा जानकार हुँदाहुँदै पनि केही पत्रकार र मानवअधिकारवादीहरू चाहिँ कृष्ण सेन, मिलन नेपाली लगायतको नाम नै उच्चारण गर्न मान्दैनन् । त्यसबेला अमर सिंहले कृष्ण सेनलाई ‘तँ पनि ठकुरी, म पनि ठकुरी अनि राजा पनि ठकुरी । त्यसमध्ये तँ जस्ता ठकुरी चाहिँ मारिन्छ, अब तेरो बाँच्ने दिन सकिए’ भन्दै करेन्ट लगाउँदै यातना दिएको र उनको हत्या गरिएको समाचार यसअघि नै धेरै पटक प्रकाशित भइसकेको छ । उनको हत्यामा अमर सिंहलाई सहयोग पुर्‍याउने डीएसपी विक्रम थापालाई कारबाहीको माग गर्नु त परै जाओस् त्यही साल उनलाई उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरिँदा समेत न पत्रकारहरू बोलेका थिए, न त मानवअधिकारवादी नै । त्यसो त कृष्ण सेनको हत्या हुँदाताकाका गृहमन्त्री खुमबहादुर खड्का र गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलहरूले त्यसप्रकारको बर्बर हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने र उनीहरूमाथि कारबाही हुनुपर्ने माग कहीँ कसैले उठाएन । अरू त अरू धनगढीका पत्रकार जेपी जोशीको हत्या भयो, तर उनको हत्याबारे अनुसन्धान गर्न माधव नेपालको सरकारले गठन गरेको आयोगले लगभग ३० लाख खर्च गरेर पनि घटनाको सत्यतथ्य गुपचुप पार्‍यो । कृष्ण सेनको हत्या भएको समाचार ०५९ साल असारमा जनआस्था साप्ताहिकले सार्वजनिक गरेर गैरन्यायिक हत्याको पर्दाफास गरिरहँदा ठूला सञ्चारमाध्यमहरू भने मौसममा आएको परिवर्तन र जाडो याममा मोजाको बिक्रीमा भएको बृद्धिबारे सम्पादकीय लेखिरहेका थिए । यसो त कान्तिपुर दैनिकले कृष्ण सेनको हत्यामा समेत अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गरेको थियो । माओवादी जनयुद्धलाई नैतिक समर्थन गर्ने सेनलाई प्रहरीले पक्रँदा ‘कृष्ण सेन सहित दुई माओवादीका केन्द्रीय सदस्य पक्राउ’ भन्दै समाचार प्रकाशित गरेर उनको हत्याका लागि आधार तयार पारिदिएको थियो । कान्तिपुरमा कार्यरत एक पुराना पत्रकारका अनुसार त्यसबेला उक्त समाचार प्रकाशित गर्न एमालेका नेताहरूले भूमिका निर्वाह गरेका थिए भने उनको हत्या हुँदा प्रफुल्लित हुनेहरूमा एमालेको पंक्ति थियो । उता पत्रकार मिलन नेपालीलाई भने त्यसअघि नै ०५६ जेठ ७ गते केन्द्रीय हुलाक कार्यालय टेबहालबाट पक्राउ गरी बेपत्ता पारिएको थियो । उनी हालसम्म बेखबर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.